काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रभावका कारण देशभरको मौसम बदली हुनुका साथै अधिकांश जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ ।


ADVERTISEMENT


झापासहितका विभिन्न ६ जिल्लामा अति भारी वर्षा भएको छ । विभागका अनुसार झापाको केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ भने झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । यस्तै इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ । काठमाडौँ उपत्यकामा समेत रातभर वर्षा हुनुका साथै पछिल्लो ४ घण्टायता भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ

विभागका अनुसार पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेको छ । जसले गर्दा डुबान र कटानको सम्भावना बढेपछि प्रभावित क्षेत्रमा सतर्कता अपनाइएको हो ।