काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


कम्पनीका सञ्चालक समिति अध्यक्ष सञ्जना आर्यालसहितको टोलीले अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।


ADVERTISEMENT

# # #


भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। सहयोगबाट बाढी प्रभावित नागरिकको खोजी, उद्धार, राहत, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान र आभार व्यक्त गरेको छ।