काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विपद्को अवस्थामा एकजुट भएर राहत, उद्धार र पुनःस्थापनाका काममा सरकारसँग समन्वय गर्दै अघि बढ्ने सहमति गरेको छ।
बैठकपछि रास्वपा प्रवक्ता जगदीश खरेलले खोजी, उद्धार तथा राहतका विषयमा विभिन्न राजनीतिक दलबाट प्राप्त सुझाव र प्रतिक्रियालाई गम्भीर रूपमा लिइएको जानकारी दिएका छन्। उनले केन्द्रमा बनेको राजनीतिक सञ्जाललाई सबै तहसम्म विस्तार गर्ने सहमति भएको बताएका छन्।
उनका अनुसार यस्तै सर्वदलीय बैठक तथा संयन्त्रहरू बागमती प्रदेश, बाढी प्रभावित सबै जिल्ला र स्थानीय तहमा समेत गठन गरिनेछ। तीन तहका सरकारले गरिरहेका विपद् व्यवस्थापनसम्बन्धी काममा सहयोग र सहजीकरण गर्ने संयन्त्रको मुख्य उद्देश्य रहेको उनले बताएका छन्।
सिंगो बस्ती नै सार्नुपर्ने अवस्था देखिएकाले सरकार, नागरिक, प्रभावित समुदाय र राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिँदै अघि बढ्ने सहमति भएको पनि उनले जानकारी दिएका छन्।
बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले प्रभावित क्षेत्रमा पीडित नागरिकलाई राहत वितरणमा सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए। सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने र सबै निकायबीच समन्वय गरेर उद्धार तथा राहतमा जुट्नुपर्ने उनको सुझाव थियो।
त्यस्तै, नेकपा नेता वर्षमान पुनले सुरुङमा थुनिएका मजदुरको उद्धारका लागि विज्ञहरू परिचालन गर्नुपर्ने बताएका छन्। निजी क्षेत्र तथा विदेशी कम्पनीलाई समेत उद्धार कार्यमा सहभागी गराउनुपर्ने उनले धारणा छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पनि सुरुङमा थुनिएका व्यक्तिको खोजी तथा उद्धारका लागि सरकारले अन्य देशसँग प्राविधिक सहयोग लिनुपर्ने बताएका छन् ।
बैठकमा सहभागी अन्य नेताहरूले राहत वितरणलाई न्यायोचित र प्रभावकारी बनाउनुपर्ने, उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै पुनःस्थापनामा समेत विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।































































