काठमाडौँ – गृहमन्त्री रमेश लेखकले बाढीका कारण ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलामा फसेका ४ जनालाई कोसिस गर्दागर्दै पनि उद्दार गर्न नसकेको बताएका छन् ।
शनिबार कमाण्ड पोष्टको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासका बाबजुत उनीहरुलाई बचाउन नसकिएको भन्दै दुःख व्यक्त गरे । कम भिजिबिलिटी भएका कारण हेलिकोप्टरबाट उद्दार गर्ने अवस्था नरहेको उनले बताए ।
‘नख्खु खोलामा केही मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकेनौँ । यसका बारेमा अत्यन्त ज्यादा दुःखी छु र हेलिकोप्टर उडाएर उद्दार गर्ने कुरामा भिजिबिलिटीका कारणले हेलिकोप्टर उडाउन सकिएन’ गृहमन्त्री लेखकले भने, ‘जमिनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गर्ने प्रयासमा अलिमाथि सशस्त्र प्रहरीकै जवान बगेको अवस्था छ । उहाँलाई नै उद्दार गर्नुपर्ने अवस्था आयो ।’
शनिबार बिहान नख्खुमा घण्टौँसम्म उद्दारको लागि पर्खिँदापर्खिँदै २ बालबालिका र एक महिला र एक पुरुषलाई बाढीले बगाएको थियो । राजधानी काठमाडौँमै घण्टौँ उद्दारको लागि पर्खिरहेका मानिससमेतले ज्यान गुमाउनुपरेको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ ।
गृहमन्त्री लेखकले भने जोखिममा परेकाहरुको उद्दार र राहतको कामलाई प्राथमिकता दिएर सरकार अघि बढेको बताए ।


























































