काठमाडौं- पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पूरबहादुर गुरुङ (युक्त)को पार्थिव शरीर काठमाडौं ल्याइएको छ।
बिहीबार कतार एयरवेजको विमानमार्फत गुरुङको शव काठमाडौं ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको पार्थिव शरीर पुगेपछि परिवारका सदस्य, आफन्त, शुभेच्छुक तथा पर्वतारोहण समुदायका प्रतिनिधिले श्रद्धाञ्जलि अर्पण गरेका थिए।
त्यसपछि शवयात्रासहित पार्थिव शरीरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा लगिएको छ। संघका अनुसार गुरुङको अन्तिम संस्कार शुक्रबार गरिनेछ।
गत साता पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी कीर्तिमानी आरोही निम्स पुर्जा, पूरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित ६ नेपाली तथा १० जनाको ज्यान गएको थियो।
निम्स पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि बेलायतमै गर्ने तयारी गरिएको छ। अन्य नेपाली पर्वतारोहीहरूको शव भने पाकिस्तानमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि क्रमशः नेपाल ल्याइने नेपाल पर्वतारोहण संघले जनाएको छ।


























































