काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालमा सञ्चालन भइरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजनाबारे जानकारी गराउँदै चालु आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी रहेको जनाएको हो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको बताएकी छिन्। उनले नेपालमा मेडिकल टुरिजमको सम्भावना विस्तार गर्न नरदेवी, कीर्तिपुर र बुढानीलकण्ठमा सञ्चालन भइरहेका पञ्चकर्मलगायतका स्वास्थ्य संस्थालाई थप सुदृढ बनाउने योजना रहेको जानकारी दिएकी छिन्।
मन्त्री मेहताले हालसम्म सरकारको मातहतमा कुनै पनि आँखा अस्पताल नरहेको उल्लेख गर्दै कोशी अस्पताल, विराटनगरबाट पहिलोपटक सरकारी आँखा अस्पताल सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएकी छिन्।
यस्तै, मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रममा बिरामी तथा उपचार आवश्यक परेका व्यक्तिको सहभागिता धेरै हुने तर स्वस्थ नागरिकको सहभागिता कम भएकाले बीमा कोषमा दाबी तथा खर्च बढ्दै गएको जानकारी दिएका छन्।
उनका अनुसार गरिबीको रेखामुनि रहेका वा गरिब परिचयपत्र प्राप्त करिब ४० प्रतिशत नागरिक तथा ७० वर्षमाथिका करिब ४ प्रतिशत ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्।
बैठकमा समिति सदस्यहरूले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्दै यसको दीर्घकालीन दिगोपन र प्रभावकारिता सुनिश्चित गर्न सरकारलाई आवश्यक सुधारका कदम चाल्न सुझाव दिएका छन्।


























































