बागमती – यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बागमती प्रदेशका १० जिल्लामा ११६ पुगेको छ ।
प्रदेशका १० जिल्लामा मृत्यु हुनेमध्ये काभ्रेमा थप १२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको हो । यससँगै बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म ११६ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
काभ्रेमा हालसम्म बाढी पहिरोबाट मृत्यु भएकामध्ये ५० जनाको शव फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यस्तै, धादिङ जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ३९ जनाको शव फेला परेको छ । बाढीपहिरोमा परी सिन्धुपाल्चोकमा १०, मकवानपुरमा सात, दोलखामा सात, सिन्धुलीमा दुई र रामेछापमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ।
बाढीपहिरोजन्य विपद्बाट काभ्रेमा नौ र सिन्धुपाल्चोमा दुई गरी ११ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य तथा उद्धार गर्न प्रदेशभर चार हजार ११९ प्रहरी परिचालन गरिएको थियो । प्रहरीले विभिन्न जिल्लाका २४७ परिवारका ३१७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।



























































