काठमाडौं – उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी हवल्दार डोलनाथ ढकालको गोली लागेर मृत्यु भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाका अनुसार प्रहरी हवल्दार ढकालले आफैंलाई गोली प्रहार गरेका थिए ।
बिहीबार साँझ काठमाडौंको टोखास्थित आफ्नै निवासमा उनले न्यायाधीशको सुरक्षाका लागि बोक्दै आएको पेस्तोलबाट गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली लागेर गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


























