काठमाडौँ– पशुपतिको गौशाला धर्मशाला खाली गराउन पुगेका काठमाडौँ महानगर प्रहरीले मारवाडी सेवा समितिले प्रतिकार गरेको छ ।


ADVERTISEMENT


बुधवार धर्मशाला खाली गराउन पुगेका महानगरलाई समिति बहालमा नभई मोही भएको दाबीसहित मारवाडीहरूले खाली गर्न प्रतिकार गरेका हुन् ।


ADVERTISEMENT

# # #


यतिबेला धर्मशाला खाली गराउन महानगरीय प्रहरी यतिखेर गौशाला पुगेका छन् । तर, मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित हुनुपर्ने समिति पदाधिकारीको हठ छ ।

त्यहाँका सम्पूर्ण भौतिक संरचना मारवाडी समितिद्वारा निर्मित भएको र ८४ वर्षदेखि मानव सेवामा समर्पित भएको भन्दै समितिका पदाधिकारीहरू धर्नामा बसेका छन् । अहिले वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडीबीच वार्तासमेत भइरहेको छ ।

२१ वर्षपछि फिर्ता धर्मशाला समितिले बनाएको थियो व्यावसायिक थलो 

पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

समितिको दाबी नपुग्ने अदालतको फैसलासँगै कोष र समितिबीचको ९ बुँदे सम्झौता खारेज भएको थियो । त्यसपश्चात् आइतबार पशुपति विकास कोष सञ्चालक परिषद्‍ बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न पाउने निर्णय गरेपछि सोही दिन कोषले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्झौताका लागि पत्राचार गरेको थियो ।

गौशालास्थित कित्ता नम्बर ८३ को ४ रोपनी १५ आना २ पैसा क्षेत्रफल र सोही स्थानको कित्ता कित्ता नम्बर ८५ को ४ रोपनी १० आना क्षेत्रफल गरी जम्मा ९ रोपनी ९ आना जग्गा र त्यहाँ बनेको धर्मशाला समितिले प्रयोग गर्दै आएको थियो ।

वार्षिक ५१ हजार रुपैयाँ तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र पशुपतिनाथमा पर्व–पर्वमा छाडिएका साँढेहरूलाई परम्परा अनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेखि बुँदासहित सम्झौता भएकोमा मारवाडी सेवा समितिले भने हाल होटल, लज, रेस्टुरेन्ट र डायलासिस सेन्टर समेत सञ्चालन गरिरहेको छ ।

समितिले व्यावसायिक प्रयोजनकै लागि दूध उत्पादन गर्न जर्सी गाई पालेर दूध समेत बेच्ने गरेको छ । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटै सटर मासिक ३५ हजार रुपैयाँसम्ममा भाडामा लगाएको छ ।