काठमाडौँ– पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने पक्राउ परेका छन् ।
लामिछाने सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा परेका हुन् । कास्की जिल्ला अदालतले शुक्रबार जिल्ला प्रहरीको अनुरोधमा उनीविरुद्व पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।
के छ कानुनी व्यवस्था ?
सहकारी ठगीमा बिगोअनुसार २ देखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ । त्यसमा संगठित अपराधमा पनि पुष्टि भए सहकारी ठगीमा हुने अधिकतम सजायको डेढीसम्म सजाय हुने छ । संगठित अपराध छुट्टै अपराध होइन । कुनै कसुरमा संगठितरूपमा अपराध गरेको पुष्टि भए सम्बन्धित कसुरमा हुने सजायको डेढी सजाय हुने कानूनी व्यवस्था रहेको छ ।
संगठित अपराधमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ । तर, यही कसुरमा करिब एक महिनाअघि पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेकाले अब पक्राउ पर्नेहरू बढीमा एक महिनामात्र प्रहरी हिरासतमा रहनेछन् । तर, सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भए हिरासतमा रहनु पर्ने समय बढ्न सक्नेछ । सम्पत्ति शुद्धीकरणको मुद्दामा ९० दिनसम्म हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ ।
पक्राउ पुर्जी जारी हुनु वा प्रहरीले अनुसन्धानमा राख्नु भनेको मुद्दा लागि हाल्नु होइन । मुद्दा चलाउने कि नचलाउने र कुन–कुन कसुर लगाउने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्छ ।
पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रमाण नपुगेको वा नरहेको भन्दै मुद्दा नचल्ने निर्णय भएका पनि थुप्रै उदाहरण छन् ।




























































