बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । सरकारलाई वहुमत सिद्ध गर्न ८३ सदस्यीय कायम रहेको प्रदेश सभामा ४२ मत आवश्यक थियो ।


ADVERTISEMENT

# # #


प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् ।

विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका हुन् । आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११ , जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाको १ मत आएको हो ।

प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए । यस्तै ३ जना तटस्थ रहेका थिए । सत्ता पक्ष नेकपाका एक सांसद विदेश भएकाले अनुपस्थित भइन् भने जसपा नेपालकी अम्बिका काफ्ले पनि अनुपस्थित भइन् ।

प्रदेश सभा सचिवालयका अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित भए । प्रदेश सभामा एमाले, नेकपासँगै जसपा नेपाल, राजमो सत्तारुढ बनेका छन् भने कांग्रेस, जनमत विपक्षमा देखिएका छन् ।