काठमाडौँ – साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी अंकका गिरावट आएको छ । आइतबार नेप्से ४७.४४ अंकले घटेर २ हजार ६९७.९१ अंकमा झरेको हो ।
अघिल्लो दिनको तुलनामा आज भने नेप्सेको कारोबार रकम बढेको छ । आज विभिन्न ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर ८ अर्ब १८ करोडमा कारोबार भएको हो । यसअघि बिहीबार नेप्सेमा ७ अर्ब १९ करोडको कारोबार भएको थियो ।
आइतबार सबै क्षेत्र घटेका छन् भने १८ कम्पनीको शेयर बढ्दा २२६ कम्पनीको शेयर मूल्य ऋणात्मक बनेको छ । जस अनुसार बैकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटेको छ ।
आज कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने ङादी ग्रुप पावरको ९.८९, हिमालयन लघुवित्तको ५.९२ तथा अपर सोलु हाइड्रोको ३ प्रतिशत मूल्य बढ्यो । यस्तै इस्टर्न हाइड्रो पावर लिमिटेडको शेयरमा १० प्रतिशतले कमी आउँदा प्रतिकित्ता ८७५.७० रुपैयाँमा झरेको छ भने गुडविल फाइनान्सको शेयर ८.४१ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ९९.१० रुपैयाँमा कारोबार भएको छ ।
कारोबार रकमका हिसाबले आइतबार गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४५ करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । सेन्सेटिभ इन्डेक्स १.५९ प्रतिशतले घटेर ४८७.३९ अंकमा झरेको छ ।





























































