काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै आवश्यक कागजात तत्काल उपलब्ध गराउन माग गरेका छन्।


ADVERTISEMENT


बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले १५ दिनअघि नै प्रहरी पोसाक खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी कागजात माग गरिए पनि अहिलेसम्म उपलब्ध नगराइएको बताए। कागजात नदिइकनै फेरि करोडौँ रुपैयाँको टेन्डर आह्वान गरिएको भन्दै उनले आपत्ति जनाए।


ADVERTISEMENT

# # #


सुनारले प्रहरी मुख्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोपसमेत लगाए। उनले आफूले उठाएको भ्रष्टाचारसम्बन्धी विषयमा प्रमाणसहित अडिग रहेको भन्दै कुनै दबाबमा पछि नहट्ने बताए।

आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए अदालत जान चुनौती दिँदै उनले आफू कानुनी प्रक्रियाबाट जवाफ दिन तयार रहेको बताए। संसद्को सार्वजनिक लेखा समिति सरकारका निकायको कामकारबाहीमाथि प्रश्न उठाउने र जवाफदेहिता खोज्ने थलो भएको भन्दै उनले अनियमितताविरुद्धको आफ्नो संघर्ष जारी रहने बताए।

यसअघि पनि सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी पोसाक खरिदमा अनियमितताको विषयलाई लिएर सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच चर्काचर्की भएको थियो।