काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले सहकारी ठगी गर्ने जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता दोहोर्याएका छन् । बुधबार सरकार गठनको एक सय दिन पुगेृको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगलाई कारबाही गर्ने मात्रै नभई बचतकर्ताको रकम समेत फिर्ता गर्न लाग्ने बताएका हुन् ।
उनले सरकार बनेयता हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको र ५७५ जनाभन्दा बढी जेलमै रहेको बताए ।
‘जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्छौं । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई कानुनी दायरमा ल्याएको छ र ल्याउँदैछ ।’ उनले भने, ‘सहकारी ठगहरुलाई कारबाही गर्ने मात्रै होइन, बचतकर्ताको बचन फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमान गर्ने र सहकारी कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि संगै अघि बढेको छ ।’
प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्ने जिकिर गरे । उनले भने, ‘भ्रष्टाचार नियन्त्रण एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय होइन । यसले सुशासनको प्रणालीको रुपमा गति लिन्छ ।’ उनले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकास विकासका कार्यमा कसैसँग सम्झौता नगर्ने जिकिर गरे ।



























































