काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल–चीन सीमाक्षेत्रमा ठूलो क्षति पुर्याएपछि चीनले उद्धार तथा राहतका लागि सरकारी संयन्त्र परिचालन गरेको छ।
बाढीबाट भएको क्षतिको निरीक्षण तथा विपद् व्यवस्थापनका कामको निर्देशन दिन चिनियाँ उपप्रधानमन्त्री चाङ गुओछिङ नेपाली सीमाना नजिकैको केरुङ पुगेका छन्। उनी सम्बन्धित सरकारी अधिकारीहरूसहित प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन त्यहाँ पुगेका हुन्।
यसैबीच, भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिप्रति भारतले पनि गम्भीर चासो जनाएको छ। भारतले बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने तयारी गरेको सरकारी स्रोतले जनाएको छ।
भीषण बाढीपछि नेपालमा उद्धार, राहत र खोजी कार्य जारी रहेका बेला चीन र भारत दुवैले सहयोगका लागि तत्परता देखाएका छन्।






























































