काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका छन् ।
नेकपाका सस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादीले केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले यसअघि भएका कमी कमजोरीको आ–आफ्नो पार्टीभित्र गम्भीर समिक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका हुन् ।
एकताको कुरा गरेर मात्रै नहुने भएकाले मिल्नेजति तत्काल एक हुने र मिल्न नसके कार्यगत एकताबाट एकीकृत हुनु सुरु गर्नुपर्ने उनले बताए । हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिने प्रचण्डले बताए ।
उनले नेपाली समाजलाई रुपान्तर गर्दै समाजवादको आधार निर्माण गर्न कम्युनिष्ट आन्दोलनले ठूलो भूमिका खेलेको पनि धारणा राखे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशको हित रक्षा गर्ने विषयमा सहज हुनुपर्ने अवस्था देखिएको बताए । उनले कम्युनिष्ट आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने गरेकाले परिस्थीतिको उचित मूल्याङ्कन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई पुन बलियो बनाउनका लागि बिगतको समीक्षा गर्नुपर्ने जिकिर गरे ।


























































