काठमाडौँ – नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आवद्ध भएका छन् ।
आफ्नो चार वर्षे कार्यकालमा भएका उपलव्धी सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा कुल जनसंख्याको १२ दशमलव ७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आवद्ध भएको जानकारी गराएका हुन् ।
उनका अनुसार यस अवधिमा ७९ प्रतिशतले बीमा नवीकरण गरेका छन् । आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले बताए ।
बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे । सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बीमा बोर्डको नीति तथा तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको सुरुवात गरेको उनले बताए ।
त्यस्तैबसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बीमा कोष बनाई, सो को सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भईरहेको जिकिर गरे । उनले स्वास्थ्य बीमा कार्यक्रमकै कारण सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाट प्रभावकारी काम भएको बताए ।
उनले सिमित जनशक्तिका बाबजुत आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारवाहीहरु सन्तोषजनक रहेको धारणा राखे । बसौलाले स्वास्थ्य बीमाको स्थायी संगठन संरचना स्वीकृत गरि आफ्नै कार्यविवरण अनुसारको कार्मचारीबाट सञ्चालन गर्नुपर्ने बताए । कार्यकारी निर्देशक बसौलाको चार वर्षे कार्यकाल आगामी मंसिर २५ गतेबाट समाप्त हुँदैछ ।



























































