काठमाडौँ– भिजिट भिसामा कुबेत उड्न लागेका २२ जना युवतीलाई अध्यागमनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ । अध्यागमनले उनीहरुलाई मानवतस्करीको आशंकामा विमानस्थल फर्काइदिएको जनाइएको छ ।
विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार, उनीहरु हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए । दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि उनीहरुलाई राति नै फिर्ता गरिएको हो ।
उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास रहेको बताउदैँ उनले भने, ‘टिकट पनि एकतर्फी मात्रै रहेछ । बदमाशी प्रष्ट देखिएपछि हामीले फिर्ता गरेका हौं ।’
घटनामा कसैलाई पक्राउ गरिएको छैन । एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । तर, पछि छोडिएको बताइएको छ ।


























































