काठमाडौँ – युएईमा जारी आईसीसी यू–१९ महिला विश्वकपको एशिया क्षेत्र छनोटमा नेपालले तेस्रो जित हात पारेको छ । नेपालले आइतबार थाइल्याण्डलाई १०६ रनले हराएको हो ।


ADVERTISEMENT


दुवईको द सेभेन स्टेडियम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनायो । जवाफीब्याटिङमा उत्रिएको थाइल्याण्ड १६ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमै समेटियो । थाइल्याण्डका लागि कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


थाइल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपालकी कुसुम गोदारले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडेन राख्दै ९ रनमात्रै खर्चिइन् । यस्तै रिया शर्मा र रचना कुमारी चौधरीले समान २–२ विकेट हात पारे भने कप्तान पूजा महतोले १ विकेट लिइन् ।

यसअघि नेपाललाई उच्च स्कोरतर्फ पुर्याउन ओपनर साना प्रवीनले अर्धशतकीय पारी खेलिन् । उनले ४६ बलमा ७ चौकाको मदतमा ५३ रतन जोडिन् ।

यस्तै साबित्री धामीले ३६ बलमा १ चौकाको मदतमा २८ रन जोडिन् । उनीहरुले पहिलो विकेटका लागि महत्वपूर्ण ८८ रनको साझेदारी गरे । यस्तै सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ थाइल्याण्डकी नथारिका थोकोइले ३ विकेट लिइन् भने केसिनी काइओजुम्फोलले २ विकेट हात पारिन् । यस्तै कोरानित सुवाङचोनरथीका नाममा १ विकेट रह्यो । नेपालले ३ विकेट रनआउटका रुपमा गुमायो ।

आजको जितसँगै नेपालले विश्वकपमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालसहित आयोजक युएई, थाइल्याण्ड र कुवेत गरी ४ राष्ट्र सहभागी प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग २–२ खेल खेल्दैछन् ।

नेपाल ४ खेलमा ३ जितसहित ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यता युएइई भने ४ खेलमा ४ जितसहित ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । थाइल्याण्डले ४ खेलमा १ जित हात पारेर २ अंक बटुल्दै तेस्रो स्थामा छ । कुवेतले भने ४ वटै खेल हारेको छ ।

नेपालले यसअघि युएईसँग हारेकाले विश्वकप छनोट हुने युएईलाई हराउनै पर्ने बाध्यता छ । नेपालले पाँचौँ खेल भोलि कुवेतसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आगामी जनवरीमा मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् ।