बुटवल – सहकारी ठगीको अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई बयान भैरहवा ल्याइएको छ । त्यहाँबाट उनलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइएको छ ।
लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२ः२० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् । ‘सरकारी वकिलको कार्यालय पुराए लगत्तै बयान लिइनेछ’, डीउसपी खनालले भनिन् ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरेको छ ।
उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरुले प्रदर्शन गरिरहेको छ ।


























































