काठमाडौँ– राष्ट्रिय कर दिवस–२०८१ को पूर्वसन्ध्यामा आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी, काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं र अधिकृत समाज काठमाडौंसंगको सहकार्य तथा समन्वयमा बुधबार आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वर परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
डेंगुको संक्रमणका कारण बजारमा ताजा रगतको अभाव देखिएपछि त्यसलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले जानकारी दिए । कार्यालयका कर्मचारीका साथै अन्य सर्वसाधारणहरुले समेत रक्तदान गरेको उनले बताए ।
२०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर लागु भएको दिनको अवसरमा हरेक बर्ष मंसिर एक गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुँदै आएका छन् ।



























































