काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपलिकामा मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा गरेको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उम्मेदवार घोषणा गरिएको हो ।
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि बुधबार काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफु नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्ष गरेको काम र नयाँ सरकार बन्नुको कारणबारे जनताले स्पष्ट रुपमा बुझिसकेको भन्दै जनताले माओवादीलाई विश्वास गर्ने आधार तयार हुँदै गएको बताए ।
उनले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे ।
कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र बिद्रोहको केन्द्र भएको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा यसलाई कायम राख्नुपर्नेमा जोड दिए । प्रचण्डले चूनावी सभा आयोजना गर्नुभन्दा जनताको घर–घरमा जान निर्देशन समेत दिए ।



























































