काठमाडौँ – नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटका यू–१९ टोलीविरुद्धको ५ खेलको अभ्यास सिरिज ३–२ ले जितेको छ । बिहीबार पाँचौँ अर्थात् अन्तिम खेलमा नेपालले कर्नाटकालाई ७ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्नाटका यू–१९ टोलीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ४० ओभरमा नेपालले ३ विकेट गुमाउँदै जित हात पारेको हो ।
नेपालका लागि अकाश त्रिपाठीले नटआउट ८९ रन हाने भने मयन यादवले अर्धशतकीय पारी खेले । यस्तै नरेन भट्ट १८ रनमा नटआउट रहे । यसअघि पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो । चौथो खेलमा भने नेपालविरुद्ध जित हात पार्दै कर्नाटकाले सिरिज २–२ले बराबरी गरेको थियो ।
यस सिरिजलाई नेपालले नोभेम्बर २९ देखि युएईमा हुने एसीसी यू–१९ एशिया कपको तयारीका रुपमा लिएको थियो । समूह ‘बी’ मा रहेको नेपालले यू–१९ एशिया कपमा बंगलादेश, श्रीलंका र अफगानिस्तानविरुद्ध खेल्दैछ ।



























































