काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले तेस्रो जित हात पारेको छ । मंगलबार कर्णालीले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । १०४ रनको सामान्य चुनौती पच्छ्याउँदै ब्याटिङ थालेको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर जित हात पारेको हो ।
कर्णालीको जितका लागि गुल्शन झाले सर्वाधिक ४९ रन बनाए । विजयी छक्का प्रहार गरेका उनले ३७ बलमा ३ चौका र ४ छक्का ठोके । यस्तै चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए । बलिङतर्फ पोखराका लागि सागर ढकाल, विपीन खत्री र कप्तान कुशल भुर्तेलले समान १–१ विकेट हात पारे ।
यसअघि ब्याटिङतर्फ पोखराका लागि दिनेश खरेलले सर्वाधिक २६ तथा एन्ड्रु गउसले २५ रन बनाए । यस्तै रेमन राइफरले २० रन जोड्दा कप्तान कुशल भुर्तेल र विपीन खत्रीले समान १०–१० रन बनाए ।
पोखरालाई सस्तैमा समेट्ने क्रममा कर्णालीका विलियम बसिस्टोले सानदार बलिङ गरे । उनले ४ ओभरमा २८ रन खर्चिएर पोखराका ६ विकेट चट्काए । यस्तै कप्तान सोमपाल कामी, युनिस ठकुरी र विपीन शर्माले समान १–१ विकेट लिए ।
यससँगै कर्णालीले तेस्रो जित हात पार्दा पोखराले भने तेस्रो हार ब्यहोरेको छ । कर्णाली ४ मध्ये ३ जितसहित ६ अंकका साथ ८ टोली सहभागी एनपीएलको अंक तालिकाको चौथो स्थानमा रहेको छ भने पोखरा ४ खेलमा १ जित र ३ हारसहित २ अंकका साथ छैटौँ स्थानमा छ ।
अंक तालिकाको शीर्ष स्थानमा भने जनकपुर बोल्ट्स रहेका छ । उसले ४ मध्ये चारवटै खेल जितेर ८ अंक बटुलेको छ । यस्तै ४ मध्ये ३ खेल जितेको सुदूरपश्चिम रोयल्स ६ अंकका साथ समान खेल र समान जित र अंक भए पनि नेटरनरेटमा चितवन राइनोज तेस्रो स्थानमा छ । ५ मध्ये १ खेल मात्रै जितेको लुम्बिनी लायन्स अन्तिम स्थानमा रहेको छ ।