काठमाडौँ – प्रधान सेनापति अशोक राज सिग्देल भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल मंगलबार त्यसतर्फ लागेका हुन् ।
सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी धर्मपत्नी नीता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गरेका प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।
प्रधानसेनापति सिग्देलले मंसिर २६ गतेदेखि मंसिर २९ गते सम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।औपचारिक भ्रमणमा सहभागी हुनु पूर्व प्रधान सेनापति सिग्देललाई आजै जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबिच सम्मान गारत अर्पण गरिएको थियो ।
प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उनले पहिलो पटक विदेश भ्रमण गर्न लागेका हुन् । भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई मंसिर २७ गते भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र भारतका सेनापति पदबहाली भएपछि एक अर्काको देशको समेत मानार्थ सेनापति रहने प्रचलन रहेको छ । यसअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीयको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
त्यस्तै प्रधान सेनापति सिग्देल भारत भ्रमणका क्रममा भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै भारतीय मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् । प्रधान सेनापति सहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।