काठमाडौँ– उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिइन् । उनले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्नेजनाइन् ।
शिक्षा विधेयक समावेशी बनाउन आफूले भूमिका खेल्ने उपसभामुख राना मगरको भनाइ थियो । अपाङ्गता भएका बालबालिकासम्बन्धी बनेका नीतिलाई कार्यान्वयन गर्न सबैले दबाब दिनुपर्ने उनको धारणा छ । उनले अपाङ्गता भएका बालबालिकाको पहुँच शिक्षामा समग्ररुपमा अरु बालबालिका जस्तै पुर्याउनुपर्नेमा जोड दिँर्दै उपसभामुख राना मगरले बालबालिकाका लागि समावेशीकरण नीति बन्नुपर्ने बताइन् ।
विश्व नै समावेशीको कुरा गरिरहेको बेला हामीले समानताको नीति बनाएर अभ्यास गर्नुपर्ने उनको भनाइ थियो । अपाङ्गता भएका बालबालिकाको शिक्षा र हेरचाह गर्न छुट्टै जनशक्ति उत्पादन गर्नुपर्ने उपसभामुख राना मगरले जनाइन् ।
कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर बाँनियाले अझै पनि अपाङ्गता भएका व्यक्तिका लागि नीति बने पनि कार्यान्वयनमा समस्या रहेको बताए। कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले अपाङ्गता भएका बालबालिकामाथि सरकारले लगानी गरेमात्र बालअधिकार सुनिश्चित हुने जनाए ।
कार्यक्रममा नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षासम्बन्धी प्रस्तुतिकरण गदै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक सविता दङ्गालले ३३ विशेष र २३ एकीकृत विद्यालयबाट करिब ३३ हजार अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको बताइन् । उहाँले अपाङ्गमैत्री पाठ्यक्रम बनाउने काम भइरहेको जानकारी दिए । उनका अनुसार केन्द्रले करिब एक हजार तीन सय विद्यार्थीलाई बे्रललिपीका पाठ्य सामग्री उपलब्ध गराएको छ ।
यस्तै केन्द्रका अधिकृत दीपक माझीले अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगका सम्बन्धमा प्रस्तुतिकरण गर्दै अझै पनि अपाङ्गता भएका व्यक्तिलाई सबै उपकरण पुर्याउन नसकेको बताए । करिब १० हजार आठ सय ८२ अपाङ्गता भएका बालबालिका वैकल्पिक स्याहार केन्द्रमा रहेको परिषद्का अध्यक्ष बाँनियाले जानकारी दिए ।



























































