काठमाडौँ – नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA) को ३२औँ कार्गो दिवस–२०८२ बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपालको आर्थिक समृद्धि, औद्योगिक विकास तथा अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि ढुवानी तथा कार्गो क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनले उत्पादन, निर्यात र आयातलाई सहज, सुरक्षित र प्रतिस्पर्धी बनाउन सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै आवश्यक नीतिगत सुधार र पूर्वाधार विकासमा प्रतिबद्ध रहेको उल्लेख गरे।
मुख्यमन्त्री बानियाँले नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापारको केन्द्रका रूपमा विकास गर्न आधुनिक ढुवानी प्रणाली, गुणस्तरीय लजिस्टिक्स सेवा र प्रविधिमैत्री व्यवस्थापन आवश्यक रहेको बताए। उनले व्यापारिक वातावरण सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा बागमती प्रदेश सरकार सकारात्मक रहेको पनि स्पष्ट पारे। कार्यक्रमका अवसरमा सन् २०२४ मा नेपालबाट दोस्रो उच्च कार्गो अपलिफ्ट (2nd Highest Cargo Uplift) गर्ने उपलब्धिका लागि एक एयरलाइन्स कम्पनीलाई ‘Highest Cargo Uplift Award’ प्रदान गरिएको थियो। उक्त सम्मान मुख्यमन्त्री बानियाँले हस्तान्तरण गर्दै नेपालको हवाई कार्गो सेवाको विकासमा योगदान पुर्याउने संस्था तथा व्यवसायीहरूको प्रशंसा गरे। उनले यस्ता सम्मानले व्यवसायिक प्रतिस्पर्धा, सेवा गुणस्तर र अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थितिलाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका पदाधिकारी, सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, एयरलाइन्स कम्पनीका प्रतिनिधि तथा लजिस्टिक्स क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्गो दिवसका अवसरमा नेपालको व्यापार तथा ढुवानी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय व्यापारलाई सहज र प्रतिस्पर्धी बनाउने विषयमा जोड दिएका थिए।
कार्यक्रमले नेपालको कार्गो तथा लजिस्टिक्स क्षेत्रको विकास, व्यापार विस्तार र आर्थिक समृद्धिमा सार्वजनिक–निजी साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।































































