काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका कामु सहप्रशासक भरतराज वस्तीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ। यसमार्फत कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्नेछन्।
तलब व्यवस्थापन खातासँगै बैंकले बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा, डेबिट तथा क्रेडिट कार्डलगायतका विभिन्न बैंकिङ सेवा पनि उपलब्ध गराउने जनाएको छ। कर्मचारीहरूको आवश्यकतालाई ध्यानमा राखेर थप वित्तीय सुविधा समेत प्रदान गरिने बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंकले विभिन्न सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तार हुनुका साथै कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई थप उत्कृष्ट, सहज र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।



























































