काठमाडौँ – मलेसियामा जारी पहिलो संस्करणको एसीसी यू–१९ महिला एशिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल र भारतले अंक बाँडेका छन् । मंगलबार मलेसियाको बायुमास ओभल मैदानमा दोस्रो इनिङका क्रममा वर्षा भएपछि नेपाल र भारतले १–१ अंक बाँडेका हुन् ।


ADVERTISEMENT


वर्षाले खेल रद्द हुनुअघि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो । त्यसक्रममा नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् भने अलिशा कुमारी यादवले नटआउट २० रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


नेपाललाई सस्तैमा समेट्ने क्रममा भारतकी परुनिका सिसोडियाले ४ विकेट लिइन् भने मिथिला भी र आनन्दिता किशोरले समान १–१ विकेट लिए ।

दोस्रो इनिङमा भारतले ३.१ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाउँदा पानी परेको थियो । यससँगै भारत समूह ‘ए’को विजेता बनेको छ भने नेपालले समूह ‘बी’को उपविजेताका रुपमा अब सुपर फोरमा समूह ‘ए’ का विजेता बंगलादेश र श्रीलंकासँग खेल्नेछ । यसअघि हिजो भएको खेलमा पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल एक खेल अगावै सुपर फोरमा पुगेको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक मलेसिया र पाकिस्तान बाहिरिसकेका छन् ।