काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि पुरस्कार राशी घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विजेता टोलीले १ करोड १० लाख पुरस्कार पाउने घोषणा गरेको हो ।
क्यानका अनुसार एनपीएलमा प्लेअफमा पुगेका सबै टोलीले नगद पुरस्कार पाउनेछन् । जसअनुसार एनपीएलको उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
यस्तै तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।
एनपीएलको प्लेअफमा समूह विजेता र उपविजेताका रुपमा क्रमशः सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स क्वालिफायर्समा पुगेका छन् भने चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन् ।
यी चारवटै टोलीले अब कम्तिमा १५ लाख रुपैयाँ पुरस्कार पाउने पक्का भएको छ । एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये लुम्बिनी लायन्स, काठमाडौँ गुर्खाज, विराटनगर किंग्स र पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिएका थिए ।































































