काठमाडौँ– शिवशंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपिओ जारी गर्ने भएको छ ।
शिवशंकरले रु.१००/– अंकित दरका २५,००,००० कित्ताले हुन आउने रु.२५ करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको हो । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यी दुई संस्थाबीच भएको सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरे । सम्झौता हस्ताक्षर समारोहमा शिव शंकर का तर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।
शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड शिव शंकर इन्भेष्टमेन्ट प्रा. लि. र जय गणेश इन्भेष्टमेन्ट प्रा. लि. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । जसले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ ।
उल्लिखित कम्पनीहरुमध्ये पहिलो तीन कम्पनीहरु संचालनमा आईसकेको र प्राथमिक शेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।
शिव शंकर हाईड्रोले साधारण शेयर निष्काशन पश्चात उक्त कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब ५ करोड पुग्नेछ ।





























































