काठमाडौँ – पर्यटकीय नगरी पोखरामा दोश्रो नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव पुस १४ र १५ गते आयोजना हुने भएको छ ।
नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा दोश्रो नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव आयोजना गर्न लागिएको आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ड्रागन बोट महोत्सवमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरि २० वटा समूहको सहभागीता रहने आयोजकले जनाएको छ ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगीतामा दुई दुरीका प्रथमि हुने विजेता समूहले रु ५ हजार डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार प्रदान गर्ने बताइएको छ ।
त्यस्तैगरी सहभागी १७ वटा समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनुका साथै नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
सन् २०१९ मा चीनबाट एक लाख ६९ हजार ५३४ र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८४८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ ।





























































