काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा स्थानान्तरण गरेको छ । बैंकको आफ्नै स्वामित्वमा रहेको बालुवाटारस्थित नवनिर्मित भवनमा स्थापना गरिएको केन्द्रीय कार्यालयको बुधबार औपचारिक उद्घाटन गरिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच बैंकको नयाँ केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय स्थानान्तरणसँगै यसअघि काठमाडौंको लाजिम्पाटमा रहेको गरिमा विकास बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारबाट सञ्चालनमा आएको छ ।
गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो । बैंकले २०६७ साल वैशाख १ गते आफ्नो केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको थियो ।
राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्तरोन्नति भएपछि बैंकले २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय सारेको थियो । अहिले आफ्नै स्वामित्वको भवन निर्माण गरी केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
नयाँ केन्द्रीय कार्यालय उद्घाटनका अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको थियो ।
उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकको उपस्थिति थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको उल्लेख गर्दै संस्थाको सफलतामा ग्राहक, शेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको बताए ।
त्यस्तै, बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा थप सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।





























































