काठमाडौं- यस बर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान गरिने भएको छ ।
नेपाल जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हेमबहादुर मल्ल सम्मान २०८२ खनाललाई प्रदान गरिने जनाएको हो । त्यस्तै अघिल्लो बर्ष रोकिएको हेमबहादुर मल्ल सम्मान २०८१ डा रामकण्ठ माकाजु श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको नेपाल जन प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिएका छन् ।
सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको श्रीबृद्धिमा पुराउनुभएको योगदानको विशिष्ट योगदानस्वरुप खनाललाई सम्मान गर्न लागिएको उनले बताएका छन् । त्यसैगरि नेपालकै उत्कृष्ट नमूना अस्पतालका रुपमा स्थापीत धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालन लगाएतमा गुणस्तरीय सेवाको श्रीवृद्धिमा पुराउनुभएको योगदान स्वरुप हेमबहादुर मल्ल सम्मान २०८१ श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष आचार्यले बताएका छन् ।
अभिनन्दपत्र र नगद दुई लाखसहितको सम्मान कार्यक्रम यहि भाद्र ८ गते अर्पण गरिने संघले जनाएको छ । संघले २०६० सालदेखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुराउने व्यक्तिहरुलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ ।





























































