काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त कार्यदलले संघीय संसदको संसदीय समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन अन्य दलसंग छलफल गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको संघीय संसदमा विचाराधीन विधेयकका सन्दर्भमा गठित दुई दलीय कार्यदलको पहिलो बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन रहेका विधेयकलाई संसदको आगामी अधिवेशनबाट पारित गराउनका लागि अन्य दलसंग छलफल गर्ने निर्णय गरेको हो ।
अन्य दलका प्रमुख सचेतक र सचेतकसंग छलफल गर्ने जिम्मेवारी कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई दिइएको कांग्रेस सांसद जीवन परियारले जानकारी दिए । बैठकले संसदीय समितिमा रहेका विधेयकहरुलाई अघि बढाउने विषयमा आ–आफ्ना दलका सांसदहरुसंग पुष १७ गतेभित्र छलफल गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै बैठकले संसदीय समितिमा रहेका विधेयकहरुलाई समयसिमाभित्रै पारित गरी संघीय संसदमा पेश गर्ने सन्दर्भमा प्रतिनिधिसभा र राष्ट्रियसभाका साथै संयुक्त संसदको नियमावलीका विषयमा अन्य दलसंग परामर्श गर्ने निर्णय गरिएको परियारले जानकारी दिए ।
समितिमा लामो समयसम्म विधेयक रहने कुरा उचित नभएकाले समयसिमाभित्रै अघि बढाउनका लागि नियवमालीमा रहेको व्यवस्थाका बारेमा अन्य दलसंग छलफल गरिने उनले बताए कार्यदलको अर्को बैठक पुष १८ गते बस्ने बताइएको छ । पुष ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको दुईदलीय संयन्त्रले संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।


























































