काठमाडौँ– नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग रोक्न कडा कदम चाल्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले विहीबार बुटवलमा गरेको साक्षात्कारमा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको रेकर्ड खोजेर आम समुदाय र पत्रकार माझ सार्वजनिक गर्ने चेतावनी दिए ।
किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रबृति बढ्दै गएको भन्दै उनले विचौलियाको हातमा अनुदान जानबाट रोक्न कडा कदम चाल्ने धारणा राखे । अध्यक्ष तिमिल्सिनाले किसानको हकअधिकार विरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाठ नगर्ने बताए ।
उनले कृषिमा यान्त्रिकिरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यानदिनुपर्ने जिकिर गरे ।
अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफाल्न किसानलाई आग्रह समेत गर्नुभयो । विक्रि नभएमा गरिब र विपन्न परिवारलाई दिन उनले अनुरोध गरे ।