बिर्तामोड– झापा जिल्ला अदालतले बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटीलाई थुनामा पठाउन आदेश दिएको छ ।
उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोमबार अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।
शिवाकोटीमाथि घरमा काम गर्न राखिएकी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप छ । पूर्वमेयर शिवाकोटीविरुद्ध पीडितले किटानी जाहेरी दिएपछि उनी मंसिर २४ मा पक्राउ परेका थिए ।
आइतबार शिवाकोटीसँग बयान लिइएको थियो । उनको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कट्वाललगायतका कानून व्यवसायीले बहस गरेका थिए ।
यसअघि अदालतले उनलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनी पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा बस्दै आएका थिए । पूर्वमेयर शिवाकोटीको उपचारको व्यवस्था मिलाउन पनि कारागार प्रशासनलाई पत्राचार गरिएको अदालतले जनाएको छ ।



























































