म्याग्दी– भारत सरकारको सहयोगमा निर्माण भएको म्याग्दी बहुमुखी क्याम्पस र छात्रावास भवन हस्तान्तरण गरिएको छ ।
सोमबार काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवाशकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।
भारत सरकारको रू दुई करोड ८३ लाख आर्थिक सहयोगमा १६ कोठे दुईवटा कक्षाकोठा र आठकोठे छात्रा छात्रावास भवन निर्माण भएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए । तत्कालीन जिल्ला विकास समितिमार्फत भवन निर्माण भएको थियो ।
कार्यक्रममा राजदूतावासका कन्सुलर सिंहले भारत सरकारको सहयोगमा गण्डकी प्रदेशमा ७९ वटासहित देशभर पाँच सय ८३ वटा परियोजना सञ्चालन भएको जनाए ।
नेपालको विकासको प्रमुख साझेदार राष्ट्र भारतबाट शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिएर परियोजना सञ्चालन भएको उनको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी क्याम्पसलाई पूर्वाधारसँगै प्रविधिमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिए ।
म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले आठ सय ९७ जना विद्यार्थी अध्ययरत क्याम्पसमा निर्माण भएको भवनले पठनपाठनमा सहज भएको जानकारी दिए ।
म्याग्दी बहुमुखी क्याम्पस सन् १९९६ मा स्थापना भएको हो । यस सामुदायिक क्याम्पसले स्नातक तथा स्नातकोत्तर तहका विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ९५० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा ७० प्रतिशत छात्राहरु रहेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको बताइएको छ ।




























































