काठमाडौँ– सांसदहरुले वाइडबडी जहाज प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरुले समितिले बिशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानविन गर्न संसदीय समिति बनाउन गरेका हुन् ।
बैठकमा रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा यसबारे संसदीय समितिबाट छानविन गर्नुपर्ने बताए ।
विशेष अदालतले अख्तियारले गरेको छानबिनमा प्रश्न समेत उठाएकाले समितिले नै संसदीय छानविन समिति बनाउन पहल गर्नुपर्ने उनको भनाई छ । खनालले बायुसेवा निगमले व्यवसायीक हिसावले काम गर्न नसकेको जिकिर गरे ।
त्यस्तै सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका बिषयहरुमा छानविन हुनुपर्ने बताए । यसैगरि सांसद देवि प्रकाश भट्टचनले पनि वायुसेवा निगमलाई जोगाउन समयमा नै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।
बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामानहरु समयमा नै नपाउदा मर्मत कार्यमा ढिलाई हुने गरेको भन्दै नियतवश हुने ढिलाईको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको दाबी गरे । साढे १० प्रतिशत व्याजमा जहाज किनेर नाफा कमाउने विषय उचित नभएको उनको भनाई छ । अधिकारीले निगमको ऋण चुक्ता गर्नका लागि किस्ता बढाउन र उचित सहुलियत माग गरेपनि सम्बोधन हुन नसकेको उल्लेख गरे
बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखे । मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधिसहित निर्देशन दिएको समेत जानकारी दिए ।



























































