काठमाडौँ– मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आज गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
उनका अनुसार, बैठकले संविधान संशोधनका बिषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेको छ । दुई दलबीच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने उनले जनाए ।
संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केहि समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने उनको भनाई छ ।
प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरु पहिचान गरेर दुईदलले संशोधनको बिषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरुसंग छलफल गरिने धारणा व्यक्त गरे । संविधान संशोधनलई राष्ट्रिय एजेण्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केहि समय लाग्न सक्ने उनले जनाए । सदनमा होल्डमा रहेका विधेयकहरुलाई समेत अन्य दलसंग छलफल गरेर छिटो भन्दा छिटो अघि बढाइने उनको भनाई छ ।
बैठकले फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसंग सम्बन्धी कार्यक्रममा सहभागी हुन वनराज्य मन्त्री रुपा विश्वकर्मालाई स्वीकृत प्रदान गरेको पनि प्रवक्ता गुरुङले जानकारी दिए ।
बैठकमा सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रुपमा काम गर्ने गरि काजमा खटाउने निर्णय गरेको छ । यसैगरि, बैठकले माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उपमहालेखापरिक्षक बामदेव शर्मा अधिकारीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप गर्ने निर्णय समेत गरेको जनाइएको छ भने बैठकले पुस २६ र २७ (शुक्रबार र शनिबार) हुने नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ ।
उक्त बैठकमा सहभागी हुनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।



























































