काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियमले विश्वकप इतिहासकै स्मरणीय पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ। अमेरिका र इङ्ग्ल्यान्डले पनि आ–आफ्नो खेल जित्दै नकआउट चरणमा प्रवेश गरेका छन्।


ADVERTISEMENT


सिएटलमा भएको रोमाञ्चक राउन्ड अफ ३२ को खेलमा बेल्जियमले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई ३–२ ले पराजित गरेको हो। खेलको ८५औँ मिनेटसम्म २–० ले पछि परेको बेल्जियमका लागि रोमेलु लुकाकु र कप्तान युरी थिलेमन्सले निर्धारित समयमै लगातार गोल गर्दै खेल २–२ को बराबरी बनाएका छन् ।


ADVERTISEMENT

# # #


खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई कप्तान थिलेमन्सले गोलमा परिणत गर्दै बेल्जियमलाई ऐतिहासिक जित दिलाएका छन् । विश्वकप इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ढिलो निर्णायक गोलमध्ये एक मानिएको छ।

यता, सान फ्रान्सिस्कोमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। फोलारिन बालोगुन र मलिक टिलम्यानले एक–एक गोल गरे। बालोगुन रातो कार्ड पाएर बाहिरिए पनि १० खेलाडीमा सीमित अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै जित जोगायो। अब अमेरिकाले अन्तिम १६ मा बेल्जियमको सामना गर्नेछ।

उता, एटलान्टामा भएको अर्को खेलमा इङ्ग्ल्यान्डले डीआर कंगोलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। सुरुआती गोलले पछि परेको इङ्ग्ल्यान्डका लागि कप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गर्दै टोलीलाई शानदार पुनरागमन जित दिलाएका छन् । यससँगै बेल्जियम, अमेरिका र इङ्ग्ल्यान्डले अन्तिम १६ मा स्थान बनाउँदै विश्वकप उपाधि यात्रालाई निरन्तरता दिएका छन्।