काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्नु विशाल नदीको छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयासमात्रै भएको बताएका छन् ।
बुधबार सिंहदरबारमा हालै जारी भएका सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशका विषयवस्तु सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनका विषयमा आएका विषयहरु भ्रममात्रै रहेको भन्दै सरकार परिवर्तन हुन्छ भन्नु विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयासमात्रै भएको बताएका हुन् ।
मध्यरातमा अध्यादेश जारी गरेको टिप्पणीप्रति उनले राती पनि काम गर्दा टाउको नदुखाउन सुझाव दिए । प्रधानमन्त्री ओलीले मोर्चाले आन्दोलन गर्न लागेको सुनेको भन्दै आन्दोलन गर्नु अधिकारको बिषय भएकाले सभ्य तरिका, शान्तिपूर्णरुपमा अधिकार प्रयोग गर्न सुझाव दिए । उनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला फैलाइएको भन्दै कुनै दल फुटाउने र जोड्ने काम आफ्नो नभएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले छिटै संसद अधिवेशन आह्वान गरिने र संसद सुरु भएकै दिन अध्यादेश पेश गरी प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताए । उनले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको स्पष्ट पारे ।
सरकार टिकाउने मात्रै काम नभएको भन्दै उनले सरकारलाई सफल बनाउनु र परिणाम दिनु मुख्य जिम्मेवारी भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझावसमेतका आधारमा अध्यादेश ल्याइएको स्पष्ट पारे । कार्यक्रममा अध्यादेशका विशेषता र आवश्यकताका सम्बन्धमा मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुतीकरण गरे ।


























































