काठमाडौँ– कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले जलस्रोत क्षेत्रमा ढूक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्का सो राय व्यक्त गरेका हुन् । मुलुकमा अधिकतम विद्युत उत्पादन गरि स्वदेशमा खपत गर्ने र बाँकी विद्युुत् बिक्रि गर्दै मुलुकलाई समृद्ध बनाउने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


‘मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढ्ने हो । हामी निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने हो । डर नमानी, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गर्दछु ।’

उनले उत्पादन बढाउन र बिक्री गर्न नसके नेपालमा समृद्धि ल्याउन नसकिने बताए । समृद्वि र रोजगारी सिर्जना गर्न नै सरकारले काम गरिरहेको उनले दाबी गरे ।

जलविद्युत क्षेत्रमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको समेत उर्जामन्त्री खड्काले स्पष्ट पारे । बजार सुनिश्चित रहेकाले ढुक्कले लगानी गर्न उनले आग्रह गरे । आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिने गरिएको उनले दाबी गरे । बाँकी रहेकोमात्रै बिजुली बेच्ने उनले बताए ।

त्यस्तै इप्पानका अध्यक्ष गणेश कार्कीले बिभिन्न कारणले आयोजना निर्माणमा ढिलाई भइरहेको भन्दै एक मुस्ट २ वर्ष म्याद थप गर्न माग गरे ।

उनले विद्युत विकास विभागले अध्ययनका लागि लाइसेन्स दिएर निजी क्षेत्रले धेरै खर्च गरेर अध्ययन गरेपछि फेरि राष्ट्रिय निकुञ्जबाट अनुमति लिनुपर्ने प्रावधानबाट प्रताडित भएको उल्लेख गरे ।

ऊर्जा उत्पादन गरी राष्ट्रको समृद्धिमा योगदान पु¥याउने लक्ष्यका साथ अघि बढेको अवस्थामा देखिएका समस्याहरु समाधान गर्न उनले आग्रह गरे । अध्यक्ष कार्कीले विद्युत विधेयकमा संसोधन गर्दै २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्य प्राप्त गर्न अब तत्कालै पीपीए खुला गर्नुपर्ने बताए ।

५०० मेगावाट सम्मका आयोजना बनाइरहेको निजी क्षेत्रलाई १०० मेगावाटका आयोजनामा सिमित गर्ने र सरकारले बिना प्रतिस्पर्धा आयोजना बनाउने प्रस्ताव विद्युत विधेयकमा आएकाले यसका कारण ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई ढोका नै बन्द हुने त्रास सिर्जना भएको उनले जनाए ।