काठमाडौँ– नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट काठमाडौंमा शुरु भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा सुरु प्रदर्शनी तीन दिनसम्म चल्नेछ । फर्निचर, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि प्रदर्शनीको शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।
सो क्रममा मन्त्री भण्डारीले नेपालको काठ उद्योगलाई प्रोत्साहित गर्दै स्वदेशी उत्पादनमा प्रदर्शनीले मद्दत पुग्ने बताए । उनले नयाँ प्रविधिका लागि दक्ष कामदार उत्पादन गर्न आवश्यक तालिमको व्यवस्थाका साथै उपयोगितामा समेत मन्त्रालयले जोड दिएको धारणा राखे ।
प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहेका छन् । प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।



























































