काठमाडौँ – नेपाल स्काउटका कार्यकारी निर्देशक रामप्रसाद भट्टराईले कार्यकक्षमा गएर कामकाज सुरु गरेका छन् ।
स्काउटका प्रमुख आयुक्तबाट निलम्बनमा परेका भट्टराईलाई नियमित काम सुरु गर्न स्काउटका प्रमुख स्काउट समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लिखित रुपमा निर्देशन दिएपछि उनले शुक्रबार कार्यालय पुगेर काम काज सुरु गरेका हुन् ।
स्काउटका कार्यकारी निर्देशक भट्टराईले आफुलाई प्रमुख आयुक्तले कपोकल्पित आरोप लगाई राष्ट्रिय कार्यकारी समिति छलेर निलम्बन गरेको बताए । निलम्बन गर्ने काम गैह्रकानूनी भएकै कारण आफुलाई नियमित काम गर्न सम्बन्धित मन्त्रीबाट लिखित निर्देशन प्राप्त भएको उनले बताए । भट्टराईले प्रमुख आयुक्तले आफुमाथि लगाइएको आरोपप्रति आपत्ति जनाउदै खुला रुपमा निष्पक्ष छानविन गर्न समेत अनुरोध गरे ।
स्काउटका प्रमुख आयुक्तले मनोमानी निर्णय गरेको भन्दै भट्टराईलाई ३ महिनाका लागि निलम्बन गर्दै स्काउट सदस्य अजित लामालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएपछि विवाद भएको थियो ।



























































