काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो । १४१ रनको चुनौती पच्छ्याउँदै मैदान उत्रिएको जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रनमै समेटिएको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् भने सम्झना खड्काले २३, पूजा महतोले १८ तथा सीता राना मगरले नटआउट १० बनाइन् ।
बलिङतर्फ नेदरल्याड्सकी क्यारोलिन डी ल्याङ, आइरिस ज्वीलिङ र हिदर साइगर्सले समान २–२ विकेट लिए ।
यसअघि नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले ४१ रनको योगदान दिइन् । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । यस्तै हेदर सिजर्सले २६, रोबिन रिज्केले र फेबे मल्केनबोअरले समान २१ रन जोडे ।
बलिङतर्फ नेपालकी सीता रानामगरले सर्वाधिक ५ विकेट लिइन् भने मनिषा उपाध्यायले २ विकेट हात पारिन् । कविता जोशी र इन्दु बर्माका नाममा १–१ विकेट रह्यो । पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले हारेको नेपाल दोस्रो खेलमा थाइल्याण्ड्ससँग ४ विकेटले हारेको थियो ।
त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले एकअर्कासँग तीन–तीन खेल खेल्नेछन् ।