काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने भन्दै सत्ता सहकार्य गरेको काँग्रेस र एमालेले संशोधनको मुद्दा नै बिर्सेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काँग्रेस एमालेले सत्तामा पुगिसकेपछि संविधान संशोधनको मुद्दा बिसिएको उनले बताएका हुन् । ‘यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको चर्चा सुनिन्थ्यो । संविधान संशोधनको गानाबजाना सुनिन्थ्यो । के, कसरी, कहाँ संशोधन हुने व्याख्या विश्लेषण हुँदै थियो ’ उनले भने, ‘अहिले लोडसेडिङ लागेको हो कि संविधान संशोधनमा ! के भयो, यो फिल्म अलि चलेको छैन ।’


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान २०८७ सालमा हुन्छ भनेको बताउँदै उनले काँग्रेसलाई प्रश्न गरे, ‘अब म संविधान संशोधनको विषयमा बोलौँ कि नबोलौँ ?’ सत्तामा पुग्न काँग्रेस–एमालेले संविधान संशोधन गर्ने बाहना बनाएको आफ्नो भनाई अहिले पुष्टि भएको उनले बताए ।

समानुपातिक प्रणाली र समावेशीतालाई संशोधन गर्नु त परको कुरा छुन समेत नसक्ने भन्दै उनले दलहरुबीचका सहमति मिचेर संविधान संशोधनका नाममा राष्ट्रलाई नचाहिने द्वन्द्वतफै लैजाने चेस्टा नगर्न चेतावनी दिए । उनले आफूले राष्ट्रियसभामा माओवादीको हैसियतका कारण नभएको बताए ।

‘माओवादी अझ कमजोर देखिए पनि देशलाई पुरानो ठाउँमा लान सक्नुहुन्न । संघीय लोकतान्त्रिक गणतन्त्र तपाईंहरुका लागि राजनीतिक सम्झौता होला, माओवादीका लागि आफ्नै रगतले जन्माएको सन्तान हो ।’ उनले भने, ‘समानुपातिक समावेशीता तपाईंहरुले शान्तिका लागि स्वीकार गर्नुभएको होला, माओवादीका लागि आफ्नै रगतले लेखेको संकल्प हो । एउटा अभिभावकको रुपमा आफ्नो सन्तानको रक्षा कसरी गर्नुपर्छ हामीलाई थाहा छ ।’

महिलालाई ५० प्रतिशत दिन सहमत भए संविधान संशोधनका लागि माओवादी तयार रहेको उनले बताए ।

यस्तै  अध्यक्ष प्रचण्डले संविधान संशोधनमा राजनीतिक दलका लागि थ्रेस होल्ड बढाउने विषयले काँग्रेस एमालेलाई नै गाह्रो पर्ने जिकिर गरे ।  ‘यसरी नै सरकार अघि बढ्दै गयो भने, जनताबाट अलग्गिँदै जाने प्रक्रिया भयो भने अहिलेकै थ्रेसहोल्ड पनि तपाईंहरुलाई गाह्रो पर्न सक्छ ।’ उनले भने,’म सतर्क गराउँछु । थ्रेस होल्ड बढाएर साना पार्टीलाई सिध्याउने सोच्नु भएको छ भने आफ्नै बारे सोच्दा राम्रो ।’