काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सांसद प्रभु साहले अपमानित ढंगले प्रश्न शोधेको भन्दै आक्रोशित बनेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा सांसद साहले आफ्नो प्रश्न राखेपछि प्रधानमन्त्री ओलीले साहको प्रश्न मनमा रहेको घृणा मात्रै भएको र अपमानित ढंगले प्रश्न शोधेको उल्लेख गरे । साहले वैदेशिक रोजगारमा नेपालीलाई विदेश पठाउदा कति लाभ गर्नुभयो ? जीडीपीको झण्डै एक तिहाई राजस्व उठाएर कर आतंक सिर्जना गरेको, अवैध सम्पतिलाई किन रोक्न राक्नुभएन ? लगाएतका प्रश्न गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले आफु कुनै म्यानपावर सञ्चालक नभएको र आफ्नो कारणले युवाहरु बिदेश नगएको बताए । ‘उहाँका प्रश्न, उहाँको मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनक समेत रहेका छन् । संसद् जस्तो गरिमामय स्थानमा यस्तो भाषा, विदेश पठाएयर तपाईंलाई के लाभ भयो, म मेनपावर कम्पनीको मान्छे हुँ ?’ उनले भने, ‘म सरकारमा आएपछि ८ महिनाबाट सुरु भएको हो यो ? तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’
प्रधानमन्त्रीको प्रतिप्रश्नपछि सांसद साहले आपत्ति जनाए । तर, सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सवालजवाफ नगर्न सांसद साहलाई निर्देश गए । त्यसपछि प्रधानमन्त्री ओलीले साहको प्रश्नको खासै जवाफ दिनुनपर्ने भन्दै आफ्नो जवाफ सकिएको जानकारी सभामुखलाई गराए ।
उनले भने, ‘उहाँले गर्नुभएका प्रश्नमा खासै जवाफ दिइरहनुपर्ने छैन । सबैको उत्तर आफैले बोकेर आउनुभएको छ प्रश्नमा । त्यसैले मैँले धेरै उत्तर दिइहरनु परेन । यहाँलाई धन्यवाद छ ।’