काठमाडौँ– ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल सरकारको मूल समारोह समितिले बिशेष समारोहको आयोजना गरेको थियो ।
विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
त्यस्तै नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि गरिनुका साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो ।
त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्काउट , सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो । काठमाडौ उपत्यकाका विभिन्न नगरपालिकाले सो अवसरमा बाजागाजासहित विविध सांस्कृतिक झाकी प्रस्तुत गरेका थिए । त्यस्तै समारोहमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेहरुको नाम घोषणा समेत गरिएको थियो । जस अनुसारटेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा , विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा , कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ , विज्ञान प्रविधितर्फ आभाष मास्के र हरिराम श्रेष्ठ पुरस्कृत घोषित भएका छन् ।
यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल, खेलकुदतर्फ सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी, मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारीको नाम पुरस्कारका लागि घोषणा गरिएको छ ।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलर पुरस्कारमा नेपाल सरकारबाट रु एक करोड थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो ।