काठमाडौं –संसदीय सुनुवाइ समितिले सुरक्षा सम्बन्धी प्राप्त उजुरीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले सुरक्षा सम्बन्धी प्राप्त उजुरीमाथि छलफल गरेको थियो। उक्त विषय समितिको कार्यक्षेत्रभित्र नपर्ने भएकाले आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए।


ADVERTISEMENT

# # #


सूचनाको मागका सम्बन्धमा माग गरिएका विषयको जानकारी समितिको तर्फबाट यसअघि नै लिखित रूपमा उपलब्ध गराइसकिएको उनले बताए। थप विवरण आवश्यक परेमा नियमानुसार उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए।

सभापति श्रेष्ठले विगतमा कुनै व्यक्तिले बोलेको कुरा छुट्टै व्यक्तिगत नोट बनाएर दिने वा सिफारिस गर्ने अभ्यास नरहेको स्पष्ट पारे। बैठकका सम्पूर्ण छलफल अडियो रेकर्डका रूपमा सुरक्षित रहने र सञ्चारमाध्यममार्फत सार्वजनिक भइसकेकाले सम्बन्धित सामग्री सुन्न वा हेर्न सकिने व्यवस्था रहेको उनको भनाइ छ।

यसैबीच, समितिले आफ्ना सदस्यहरूका लागि आगामी भदौ १८ र १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।